धनगढी, असोज १६ गते । बालविवाह न्यूनीकरणमा भलमनसाको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । बालविवाह न्यूनीकरणका सवालमा बिहीबार धनगढीमा भलमनसासँग गरिएको कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि भलमनसाको भूमिका महत्वपूर्ण रहेको बताइएको हो । भलमनसाले थारू समुदायका पूरै गाउँको नेतृत्व गर्ने गर्छन् । यो समुदायमा पनि बालविवाह धेरै भइरहेकाले त्यस्तो विवाहलाई भलमनसाले रोक्न सक्ने सहभागीको भनाइ छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह कसैले गरे वा गराए स्वतः बदर हुनुका साथै दण्ड सजायको भागीदार हुने व्यवस्था छ । त्यस्तै बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकासँग विवाह गर्नु, गराउनु बालबालिकाविरुद्धको कसुर मानेको छ । समाजमा नागरिकका सबैभन्दा नजिकको मानव अधिकार रक्षक थारू समुदायका भलमनसा रहेकाले बालविवाह न्यूनीकरणमा तिनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टले बताउनुभयो । उहाँले कतिपय अवस्थामा केटा वा केटीको पक्षबाट विवाहका लागि भलमनसाहरूले अगुवाइसमेत गर्ने गरेकाले अब विवाहको कुरासँगै नागरिकता हेरेर कुरा अगाडि बढाउन अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय जनगणना, २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा २९.१ प्रतिशत बालविवाह रहेको छ । यस प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा तीन हजार ८१७, आव २०८०÷८१ मा तीन हजार ९९२ र आव २०८१÷८२ मा चार हजार १८२ बालिकाले २० वर्ष नपुग्दै गर्भधारण गरेको तथ्याङ्क छ । प्रदेशका नौ वटै जिल्लामा बालविवाह भइरहेको छ । थारू समुदायमा पनि यो समस्या भयावह रहेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित टेढुवागाउँका भलमनसा विक्रम बखरियाले बताउनुभयो । उहाँले १५÷१६ वर्षकै उमेरमा बालबालिका एकसाथ बस्ने परिपाटी गाउँघरमा पनि अत्यधिक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उमेर पुगेको हुँदैन, विवाह भएको हुँदैन तर केटाकेटी सँगसँगै बस्दाबस्दै केटी गर्भवती हुन्छन् अनि समस्या सुरु हुन्छ । यस्तो घटना गाउँघरमा धेरै छ ।”बेलौरी नगरपालिकाको कार्यपालिका सदस्यसमेत रहेका बखरियाले बालविवाह न्यूनीकरणका लागि वडा कार्यालयबाट सिफारिस नहुँदासम्म विवाहका लागि निम्तो कार्ड छाप्ने र बाँड्ने कार्य गर्न नहुने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । वडाले नै सिफारिसका लागि नागरिकतालगायतका आवश्यक कागजात माग गरेपछि केटाकेटीको उमेर प्रस्टै हुने भन्दै उहाँले विवाहभन्दा अगाडि सतर्क भएमा बालविवाह रोक्न सकिने बताउनुभयो । बखरियाले भन्नुभयो, “जन्ती पुगिसकेको अवस्थामा भने हामी भलमनसाले पनि विवाह रोक्न सक्दैनौँ । रोकेमा मारकाट नै हुने खतरा रहन्छ ।”
थारू अगुवा ठाकुर करिया प्रधानले भलमनसाले प्रभावकारी रूपमा बालविवाह रोक्नका लागि सबैभन्दा पहिले यो समुदायमा बालविवाहको अवस्था विश्लेषण गरी कानुनी ज्ञान हासिल गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यसपछि मात्रै बालविवाह न्यूनीकरणको उपायतिर लाग्दा उत्तम हुने करिया प्रधानको भनाइ छ ।